प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे ब्रिफिङ गरेका छन्। बाढी गएको दुई सातापछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्री राउतले प्रदेशमा भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन्।
क्षतिबारे सम्वन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाडौ पुगेको मुख्यमन्त्री राउत सहितको सर्वदलीय टोलीले प्रदेशमा अर्बौ रुपैया बराबरको क्षति भएको, ३७ जना भन्दा बढीको मृत्यु तथा हजारौ परिवार घरबार विहीन भएको जानकारी गराएका थिए।
बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुता भन्दा बाहिर रहेको उल्लेख गर्दै उनले विस्थापितहरुको पुनर्वास र भत्किएको संरचना पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह समेत गरे।
जवाफमा प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफ पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।
भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव समेतको उपस्थिति थियो भने प्रदेश २को सर्बदलिय टोलीमा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव सहभागी थिए।