कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट प्रहरीले रेडपाण्डाका छालासहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका वडा ५ सनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, सोही स्थानका ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले पक्राउ गरेको हो।
होटलको कोठा र उनीहरुको शरिर खानतलासी गर्ने क्रममा २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर १ वटा बरामद गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
पक्राउ परेका ३ जनालाई उनीहरुको साथबाट बरामद भएको छालासहित प्रहरीले डिभिजन बन कार्यालयलाई कपिलवस्तुलाई बुझाएको छ। उनीहरु उपर राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्धा चल्ने डिभिजन वन कार्यालयले जनाएको छ। बरामद भएको छाला परीक्षणका लागि केन्द्रमा पठाउने तयारी भईरहेको र पक्राउ परेका ३ जना उपर थप अनुसन्धान शुरु गरिएको सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले जानकारी दिए।
ब्राउन सुगरसहित २ जना पक्राउ
कपिलबस्तु नगरपालिका १ आन्दोलन चोकबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका १० का ३९ वर्षीय जीवन गुरुङ, सोही स्थानमा विजय सुनार रहेका प्रहरीले जनाएको छ।
विशेष सुचनाका आधारमा शंका लागी खानतलासी गर्दा उनिहरुको साथबाट कालो प्लाष्टिकको पोकामा २ ग्राम ८८० मिलि खैरो लागु औषध ब्राउन सुगर रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। पक्राउ पर्ने सुनार र गुरुङ लु २५ प २०६४ नं.को स्कुटीमा सवार रहेका थिए। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।