धनुषाको हँसपुर नगरपालिकामा अख्तियारले छापामारी गरेको छ । पटक पटक विवादमा तानिदै आएको हँसपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छापा मारेको हो ।
विकास निर्माण कार्यमा अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा अख्यितारको टोलीले छापा मारेको हो । अख्तियारका कर्मचारीले नगरपालिकामा सम्पन्न भएका योजनाहरुको कागजातसमेत लिएर गएको नगरपालिकाका मेयर रामज्ञान मण्डलले जनाएका छन् । अख्तियारको टोलीले नगरपालिकाको वडा नम्बर ७ मा सम्पन्न भएका सातवटा योजनाहरुको फाइल लगेको मेयर मण्डलले बताए ।
नगरपालिकाको वडा नम्बर ७ मा छनौट भएको २२ वटा योजनामध्ये ७ वटा योजनाहरु मात्र सम्पन्न भएको जनाइएको छ । यसअघि काँग्रेस नगरकमिटीले योजना कार्यान्वयनमा नगरपालिकाले व्यापक भ्रष्टाचार गरेको भन्दै अनुगमनसमिति बनाएर छानबिन गरेको थियो ।
छानविनमा योजनाहरुमा १ करोड ४० लाख भ्रष्टाचार भएको कांग्रेसले ठहर गरेको थियो । तर, नगरपालिकाके मेयर मण्डलले आफूहरुमाथि लगाइएको सम्पूर्ण आरोप निराधार रहेको दाबी गरे । हंसपुर नगरपालिका क्षेत्रभित्रका विकास निर्माण कार्यको विषय लिएर यसअघि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाबीचको विवाद समेत भएको थियो । मेयर मण्डल र उपमेयर झा दुबै राजपाबाट निर्वाचित भएका हुन् ।