विवाह पञ्चमीलाई मध्यनजर गरी जनकपुरको जानकी मन्दिरलाई झिलिमिली सजाइएको छ । त्रेता युगमा भग्वान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहोत्समा जानकी मन्दिरलाई झिलिमिली सजाइएको हो ।
सप्ताहव्यापी कार्यक्रम गरी मनाइने रामजानकी विवाहोत्सवको प्रमुख आकर्षणका केन्द्र जानकी मन्दिरलाई रंगीचंगी बल्ब तथा फुलले सजाइएकाले मन्दिर भवन र परिसर झकमक बनेको छ, अहिले । साँझको समयमा रंगीचंगी बत्तिहरुले झिलिमिली बनाएकोछ, जानकी मन्दिरलाई । यसका साथै जानकी मन्दिर भवन सजाउन झण्डै ८ लाख मूल्य बराबरको फूलमात्रै भारतको कोलकत्ताबाट आयात गरिएको छ ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित पाँच सयको संख्यामा विशिष्ट अतिथिहरु आउने भएकाले विगतको भन्दा यस वर्ष सर–सजावटजस्ता कार्यलाई विशेष ध्यान दिइएको छ । भारत कोलकत्ताबाट आयात गरिएको विभिन्न प्रकारका फूलहरुले मन्रि सजाइएकोले थप आकर्षक देखिन्छ अहिले, जानकी मन्दिर ।
श्रद्धालु भक्तजको घुइँचो
विवाहपञ्चमी महोत्सव हेर्न जनकपुरमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ । प्रत्येक वर्षझैँ यसपाली पनि विवाहपञ्चमी महोत्सवको साप्ताहिक कार्यक्रम सुरु हुँदै गर्दा जनकपुर आउने श्रद्धालु भक्तजनको संख्या बढेको हो । स्वदेशी आन्तरिक पर्यटकदेखि भारतका विभिन्न राज्य र अन्य देशबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसमेत आउने भएपछि विवाहपञ्चमी महोत्सवमा भारतबाट ठूलै संख्यामा साधुसन्त र दर्शनार्थी आइरहेको देखिएको छ । मंसिर २६ गते हुने वैवाहिक कार्यक्रम हेर्न १० लाख भन्दा बढी श्रद्धालु भक्तजन जनकपुर आउने अनुमान गरिएको छ । भारतबाहेक नेपालकै विभिन्न मठमन्दिरमा रहेका साधुसन्त पनि जनकपुर आउने क्रम बढेको छ । एक सातादेखि नै ठूलो मात्रामा बस, जिप र कार रिजर्भ गरेर जनकपुर आउनेहरुका कारण गरेकाले जनकपुरका धर्मशाला, होटल, लज एवं सार्वजनिक स्थानसमेत भरिभराउ देखिएको छ । यस्तै विवाहोत्सवमा सरिक हुन साधुसन्तका रुपमा आउने पाहुनाहरुको खानपान तथा वासका लागि जानकी मन्दिर र राममन्दिरले व्यवस्था मिलाएको छ ।
सप्ताहव्यापी कार्यक्रममा रमाउँदै भक्तजन
मिथिला परम्परा अनुसार विभिन्न प्रकारका विधि पुरागर्न सात दिन लाग्ने विवाहपञ्चमी महोत्सवमा विभिन्न कार्यक्रममा सरिक भई रमाउँदै छन, भक्तजनहरु । हरेकदिन साँझ जानकी मन्दिरमा भइरहेको धार्मिक प्रवचन र झाँकीको आनन्द लिन सयौको संख्यामा भक्तजनहरु पुग्ने गरेका छन् ।
पौराणिक परम्परा अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिबार जनकपुरधाम नगर दर्शन र आइतबार फूलबारी लिला सम्पन्न भएको छ । यसैगरी तेस्रोदिन धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर, छैठौ दिन विवाहोत्स र सातौँदिन रामकलेवा मनाइने गरिन्छ ।
प्रशासन सक्रिय
लाखौको सहभागिता हुने गरेको विवाहपञ्चमी मेलालाई व्यस्थित तुल्याउन स्थानीय प्रशासन सक्रिय भएको छ । विवाहपञ्चमी मेलालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जनाए । शाहीका अनुसार विवाहोत्सवको अवसर पारेर यहाँ आउने तिर्थालुहरुको सुरक्षा र कुनैपनि उत्छृंखल गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाइएको छ । सुरक्षा व्यवस्थामा कडाई गर्दै विभिन्न धनुषा, महोत्तरी र सिरहाका सिमानाकामा समेत कडाई गरिएको उनले जनाए । विवाहपञ्चमी व्यवस्थित रुपमा सम्पन्न गर्न ४ हजार भन्दा बढी सुरक्षाकमी परिचालन गरिने बताइएको छ ।