विषाक्त घरेलु मदिरा उत्पादन र बिक्री वितरण गरेको आरोपमा फरार दुईजना पक्राउ परेका छन् । गएको अषाढ १३ गते कमला नगरपालिकामा बिषादीयुक्त घरेलु मदीरा सेवनवाट ६ जनाको मृत्यु भएको मुद्दामा फरार रहेका दुबैजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा उत्पादक कमला नगरपालीका वडा नं. ७ जागीरटोल बस्ने राजेश कुमार चौधरी र बिक्री वितरण गर्ने वडा नं. ६ मडान बस्ने वर्ष ३० का धर्मेन्द्र कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । आफ्नै गाउँमा लुकीछिपी बसेको गोप्य सुचनाको आधारमा बुधवार ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरिक्षक राम थान्दारको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको धनुषाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए । गएको अषाढ १३ गते कमला नगरपालिका –६ सिंग्याही मडान स्थित बिषादीयुक्त घरेलु मदीरा सेवनवाट ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा कमला नगरपालीका वडा नं. ५ बस्ने रामचन्द्र पासवान , मनिक पासवान, वडा नं. ६ बस्ने रामनाथ पासवान, गंगा कुमार पासवान, राम कुमार पासवान, साबिर मिया अन्सारी र राजभिर महतो रहेको थियो ।