शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले दार्शनिक रुपचन्द्र बिष्टको जीवनीलाई पाठ्यक्रममै उल्लेख गर्नुपर्ने बताएका छन् ।
उत्तरी मकवानपुरका थाहानगरस्थित फरक सोच अभियानले बिष्टको ८५ औँ जन्मजयन्ती तथा चौथो थाहा दिवसका अबसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन् ।
विष्टको सम्झनामा फरक सोच अभियानले निरन्तर कार्यक्रम गरिरहेको प्रसंग उल्लेख गर्दै मन्त्री पोखरेलले उनको जीवन अध्ययन गर्नेहरुले कहिल्यै पछुताउनु नपर्ने बताए । उनको जीवनीलाई पाठ्यक्रममै उल्लेख गर्नका लागि आफ्नोतर्फबाट पाठ्यक्रम विकास केन्द्रसंग पहल हुने उनले बताए । कार्यक्रममा रुपचन्द्र विस्ट स्मारक समितिका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले रुपचन्द्र विष्टलाई सम्झने खास दिनमा अल्मिल्लिनू भन्दा पनि वर्षैभरी उनको देखाएको बाटोमा लाग्न आग्ह गरे ।
फरकसोचका संयोजक यादवजंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रदेश सभा सांसद कुमारी मोक्तान, कार्यक्रममा प्रेम बहादुर पुलामी ‘छिन्तु’, थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली , नेकपाका नेता बलराम बललगायतले रुपचन्द्र विष्टको योगदानको विषयमा चर्चा गरेका थिए ।
थाहा दिवस समारोहको अवसरमा ‘थाहा पत्रकारिता’ पुरस्कारबाट पत्रकार राजन दाहाल पुरस्कृत भएका छन् । उनी मकवानपुरमा रहेर डेढदशकदेखि पत्रकारिता गर्दे दाहाललाई ११ हजार १११ रुपिँया नगद सहित सम्मान गरिएको हो । थाहा पत्रकारिता पुरस्कारको पत्रकार प्रताप विष्टले सौजन्य गर्दै आएका छन् ।
सोही समारोहमा थाहानगरको शिक्षा क्षेत्रमा योदान पुर्याएका थाहानगरका शिक्षासेवी निरञ्जन अधिकारीलाई तिर्थदास श्रेष्ठ सामाजिक सम्मान पुरस्कार प्रदान गरिएको छ भने साहित्यक क्षेत्रमा योगदान पुर्याए वापत साहित्यकार लक्ष्मण बर्तौला ‘बिर्खे अञ्जानलाई पनि सम्मान गरिएको छ । समारोहमा खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रमा स्वर्णपदक विजेता थाहा–१० चित्लाङका आशिष थापालाई थाहा नगरपालिकाले सम्मान गरेको छ ।