जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ । वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको भेटिएको हो ।
उपमहानगरपालिकाकी उपमयेर रिताकुमारी मिश्रसहितको टोलीले शुक्रवार गरेको आकस्मिक अनुगमनको क्रममा वडा कार्यालयले राजश्व रकम छली गर्दै आएको खुलेको छ । वडा कार्यालयले सेवाग्राहीबाट लिने दस्तुरको रसिद र दर्ता चलानीको तथ्यांक मिलान नभएपछि राजश्य छली हुने गरेको देखिएको छ ।
पछिल्लो समय माघ १५ गते कार्यालयले एक सेवाग्राहीबाट घरबाटो प्रमाणितवापत् एक हजार १० रुपैयाँ लिएको थियो । तर, वडा कार्यालयले सेवाग्राहीलाई राजश्व रसिद नदिएको भेटिएको थियो । यही प्रमाणका आधारमा उपमेयर झा, निमित्त प्रशासकीय अधिकृत प्रदीप साहसहितको टोली आज वडा कार्यालय पुग्दा अरु सेवाग्राहीलाई पनि रसिद नदिएको खुलासा भएको छ । एक सय २४ जना सेवाग्राहीका नाममा दर्ता चलानी गरिए पनि २७ वटा रसिद मात्र काटेको पाइएको छ ।
प्रशासकीय अधिकृत साहले गरेको सोधपुछमा वडा कार्यालयका सचिव गौरीशंकर साहले त्रुटि भएको स्वीकार गरेका छन् ।
यता, वडा कार्यालयका अध्यक्ष रामचन्द्र साहले आफूले सचिवमाथि विश्वास गरेर हस्ताक्षर गरेको भन्दै यसमा आफ्नो संलग्नता नरहेको दावी गरे । उनले यस कार्यमा सचिव साहले त्रुटि गरेको हुन सक्ने बताए । कागजपत्र चेकजाँचपछि उपमेयर मिश्रले वडा सचिवलाई सोमबारसम्म सबै कागजपत्र लिएर उपस्थित हुन निर्देशन दिए ।
यसैबीच, वडा कार्यालयका सदस्यहरूले घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरूले उपमहानगरपालिकाले कारबाही नगरे अख्तियारमा निवेदन दिने चेतावनीसमेत दिएका छन् ।