जनकपुरमा नयाँ पुस्ताका कलाकारको भिडमा हाँस्य कलाकारको पहिचान बनाएका कृष्ण महतो एक पछि अर्का सफलताले चर्चामा छन् । नेपाली चलचित्र दुई रुपैयाबाट डेब्यु गरेका महतो पाटेको जुता र रिलिज हुन बाँकी अन्य दुई नेपाली चलचित्रमा अभिनय गरे । महतो स्थानिय टिभीमा प्रशारण हुने मैथिली भाषाको रोचक घोचक कमेडि कार्यक्रमको मुख्य पात्र हुन ।
नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा उत्कृष्ट भए । महतोको निर्देशणमा बनेको लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट घोषित भए लगतै उनको चर्चा हुन थालेको हो । पहिलो निर्देशनमै २७ वटा चलचित्रलाई पछि पार्दै उत्कृष्ट भएका ‘अप्पन’ का निर्देशक कृष्ण राष्ट्रिय स्तरबाट पाएको सम्मानले गदगद छन् । गरिब परिवारमा २०५२ साल भदौ २६ गते जन्मेका उनले अहिलेसम्म चारवटा नेपाली चलचित्रमा समेत अभिनय गरिसकेका छन् । तर, उनले यो मुकाम भने सहजै हाँसिल गरेका होइनन् ।
बाल्यकालदेखि नै अभिनयमा रुची राख्ने महतो जनकपुरको स्थानिय टिभीबाट प्रशारण हुने हास्य कार्यक्रम रोचक घोचकबाट आफ्नो छुट्टै पहिचान पाए । उनीसँगै अभिनयमा हाम्फालेका थुप्रै साथीहरु भविष्य नदेखेपछि पलायन भैइसके । तर, कृष्ण पछि हटेन । कलाकारको संघर्षमय जिन्दगी ब्यतीत गरिरहेका उनी एकदिन सफलताको चुचुरोमा पुग्ने विश्वासका साथ डटेका छन् । छिटफुट सफलताले उनको विश्वासलाई मलजल मिलिरहेको उनी बताउँछन् ।
तीन कक्षामै पढ्दै गरेकाबेला बुवाको निधनसँगै उनको परिवारमा बज्रपात पर्याे । आर्थिक अवस्था समेत दयनीय रहेको उनको परिवारमा छाक टार्न समेत गाह्रो भएपछि नदीमा ढुङ्गा संकलन गरेर जनकपुर भित्रिका हुन्।
एक टिप ढुङ्गा बराबर मिल्ने एक सय रुपैँयाबाट ३३/३३ रुपैँया गरी साथीहरुमा बाँडेर उनले घरमा पैसा दिने गथ्र्ये । पछि त्यतीले नपुग्ने भएपछि उनी गाउँमै छिमेकीको घरमा काम गर्न थाले । तर पढाइलेखाइमा समेत बाल्यकालदेखि नै अब्बल रहेकालले उनी अरुकै घरमा बसेर भएपनि विद्यालय जान भने कहिल्यै छाडेनन् । उनको आमा पनि दिनभरी अरुको खेतमा काम गरी भाइबहिनीलाई पाल्न लागिन् ।
कक्षा ४ मै पढेको बखतदेखि नै निर्भिक्क भएर नाचगान गर्ने र माइकमा बोल्न माहिर थिए, उनी । स्कुलमा ‘फन डे’, स्वरस्वती पूजा लगायतका सांस्कृतिक कार्यक्रममा नाचगानमा समेत एकदमै रुची राख्थे कृष्णले गाउँमा पर्वको बेला मेला लाग्दा जहिलेपनि मञ्चमा बोल्न र नाच्न रुची राख्ने गर्दथे ।
गाउँमा नाचगान गरेको नराम्रो मानिदै आएकाले मेलामा नाच्दा जहिलेपनि घरबाट उनलाई गाली खाुनपरेको थियो । उनी लुकिलुकी छिमेकी गाउँमा मेला हेर्न जाँदा मञ्चमा नाच्ने गर्थे । कहिलेकाहीँ नाचगान गर्दा मञ्चमा पैसा समेत पाउन थालेपछि नाचगान र हास्य कलाकारितातर्फ उनको हौसला र अभिरुची झन बढ्दै गयो । नाचगान तथा मञ्चमा बोल्ने रहरले उनी सिमापारी पनि पुग्ने गर्थे जहाँ उनलाई केही रुपैँया पनि दिइन्थ्यो ।
आफ्नै गाउँमा छठ लगायतका पर्वको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रम तथा नाटकमा उनी भाग लिने गर्थे । हाँस्य कलाकारको रुपमा अभिनय गर्दै आएकाले उनी दर्शकलाई तुरन्तै आकर्षित गर्न थाले ।
२०६९ सालमा चर्चित कलाकार रविन्द्र झाले जनकपुरमा नाटकको वर्कशप दिइराखेका थिए । उनी त्यहीँ पुगे र त्यहाँबाट विभिन्न ठाउँमा सडक नाटकमा अभिनय गर्न थाले । ‘रेडियो कार्यक्रममा सुनेका नामका व्यक्तिहरुसँग भेटघाट भयो उनीहरुको लोकप्रियता देखेर छुट्टै उर्जा प्राप्त भयो,’ कृष्णले भने । नाम मात्र सुनेका कलाकारहरुसँग भेट भएर काम गर्ने अवसर पाएपछि उनी हर्षित मात्र भएनन् उनको रुची कला क्षेत्रमा फडको मारेका छन् ।