फागुन १८ गतेदेखि जनकपुरमा शुरु भएको साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवले जनकपुरबासी उत्साहित भएका छन्। मैथिली विकास कोषले आयोजना गरेको साताव्यापी महोत्सवमा नेपाल तथा भारतका साथै अफगानिस्तानको नाट्य समूहले आ–आफ्नो प्रदर्शन प्रस्तुत गरिसकेका छन् भने मिनाप, कर्णली, भारतको आसाम र पटना लगायतका टोलीको प्रदर्शन बाँकी नै छ।
देश विदेशका कलाकारका फरक दृष्टिकोण, भाषा र संस्कृतिमा आधारित नाट्य महोत्सवमा विहानदेखि रातिसम्म जनकपुर उद्योग वाणिज्य संघको सभाहल दर्शकको भीडले खचाखच भरिएको हुन्छ।
मिथिलामा छुट्टै महत्व रहेको नाटकले सबैको ध्यान आकर्षण गर्न सफल भएको छ। मैथिली भाषा, कला, तथा संस्कृतिमा केन्द्रित महोत्सवबाट कलाकार, चित्रकार र भाषा संरक्षकले अगामी दिनमा आशाका नयाँ किरण देख्दै छन्।
मैथिली र मिथिला कला संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ महोत्सको आयोजना गरिएकाले यसले अन्तर्राष्ट्रिय स्तरमा बजारिकरण हुने आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी बताउँछन्। ‘मैथिली भाषा र मिथिला संस्कृति, मिथिला कलाले महोत्सवबाट अगामी दिनमा कलाकार तथा साहित्यकारलाई आशाको नयाँ किरण उदय भएको छ,’ उनले भने।
महोत्सवमा सहभागी प्रदेश २ का नेकपा नेता तथा प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले महोत्सवबाट मैथिली भाषा विकासमा ठूलो योगदान पुग्ने बताए। सांसद मण्डलले भने, ‘महोत्सवबाट कला तथा सँस्कृति क्षेत्रमा ठूलो योगदान पुग्छ तर यसलाई जनकपुरमा मात्र केन्द्रित नगरी अन्य ठाउँमा पनि बिस्तार गरे अझै उन्नती सम्भव छ।’
प्रदेश सांसद रामाशिष यादव महोत्वसबाट भाषा संरक्षणमा नयाँ उचाइ लिने तर्क गर्छन्। ‘मैथिली भाषा, कला तथा संस्कृति संरक्षणमा महोत्सवको ठुलो योगदान हुनेछ’ स्वच्छता अभियानी समेत रहेका यादवले भने, ‘तर यसमा सीमित र पुरानै अनुहार देखियो, नयाँ अनुहार र अभियानीको खाँचो छ।’
महोत्सवमा प्रदेशको साँस्कृतिक पहिचान र मिथिला, केन्द्रिकृत पत्रकारिता र मिथिला, मैथिली भाषामाथि जातीय विभाजनको प्रभाव, प्रदेशको भाषा र नामाकरण,मैथिली फिल्मको संभावना, मैथिली चित्रकला सिर्जन र व्यवस्थापन, नेपालमा मैथिली लेखनको अवस्थालगायतका विषयमा गम्भीर छलफल जारी छ।
महोत्सवमा जनकपुरको रामानन्द क्लब, मिथिला नाट्यकला परिषदका साथै अफगानिस्तान, काठमाण्डौंको लोकसञ्चार, बंगलादेश, भारतको असामबाट आएका कलाकारहरुले १० वटा नाटक मञ्चन गर्ने कार्यक्रम छ। यसका साथै महोत्वसमा हरेक दिन सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुँदै आएको छ।
महोत्सवमा भारतका कालाकारहरुले हिन्दी, भोजपुरी र मैथिली गरी तीन भाषामा नाटक मञ्चन गरे। यसैगरी, अफगानिस्तानका कलाकारहरुले आफ्नो राष्ट्रिय भाषामा नाटक मञ्चन गरेका थिए। काठमाडौंको नाट्य समूहले नेपाली र जनकपुरको टोलीले मैथिली भाषामा नाटक मञ्चन गरे। महोत्सवमा नेपाल तथा भारतका विद्धानहरुले कला, संस्कृति, भाषा, राजनीतिलगायतका विषयमा गम्भीर छलफल गर्दैछन्।
यसका साथै महोत्सवमा सांस्कृतिक कार्यक्रम, लोककला, ललितकला, मिथिला भोजन एवं पुस्तक प्रदर्शनीसमेत राखिएको छ। प्रदेश सरकार गठन भएको एक वर्ष बितिसकेका बेला प्रदेशको नामाकरण, राजधानी र कामकाजी भाषालगायतका महत्वपूर्ण विषय निर्धारण हुनुपर्नेमा प्रदेश २ का मुख्यन्ययाधिवक्ता र सांसदहरुले आ–आफ्ना विचार राखेका थिए।
महोत्सवको उद्घाटनमा कांग्रेस सभापति देउवासहित उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव, कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसाल, केन्द्रीय सदस्य रामचन्द्र झा, भाषा वैज्ञानिक डा.रामअवतार यादव, वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, राजनीतिक विश्लेषक सीके लाललगायतको उपस्थिति थियो।