लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउँरुङले पछिल्लो समय पर्यटक लोभ्याउन थालेको छ। सिउरुङ गाउँमा पाइने अर्गानिक खाना, स्थानीयको संस्कृति र न्यानो आतिथ्यताले पर्यटक बढ्दै जान थालेका छन्। गाउँमा पर्यटकको चहल पहल हुन थालेपछि गाउँ छाडेका बासिन्दाहरु घर फर्किन थालेका छन्।
गाउँमा पर्यटन आगमन बढ्न थालेपछि स्थानीय मिश्रीमाया घले गाउँमै फर्किइन्। सदरमुकाम बेसीशहरमा होटल व्यवसाय गरेकी उनले गाउँमै फर्केर होमस्टे सञ्चालन गरेकी छिन्। उनी भन्छिन्,‘गाउँमा होमस्टेमै कमाइ राम्रो छ, गाउँमै आन्तरिक तथा बाह्य पर्यटक आइरहने भएपछि किन शहरमा दुःख गर्नु।’ मिश्रीमाया मात्र होइन सिउँरुङ गाउँका १७ घरपरिवारले गाउँ फर्किएर अहिले व्यवसायीक होमस्टेमार्फत राम्रो कमाइ गर्दै आइरहेका छन्।
गाउँमा पर्यटकिय चहलपहल बढेपछि स्थानीयहरु निकै उत्साहित भएका छन्। अन्नपूर्ण पदमार्ग छिर्ने अधिकांश पर्यटक सिउँरुङ भित्रने गरेका छन्। गाउँमा एकसाथ ८० जनासम्म पाहुनालाई राख्न सकिने व्यवस्था रहेको सिउरुङ पर्यटन विकास समितिका सचिव उमर बहादुर गुरुङले जानकारी दिए। गुरुङका अनुसार होमस्टेलाई अझ सुधार गर्न होमस्टे व्यवस्थापन र सडकको स्तर उन्नती कार्य अघि बढाइएको छ।
सिउँरुङमा विदेशी र स्वदेशी पर्यटकसँगै बढी मात्रामा जिल्लाभन्दा बाहिरका स्कूल तथा क्याम्पसका विद्यार्थीहरुको ठूलो समूह आउने गरेका छन्। होमस्टे सञ्चालन भएसँगै पर्यटक व्यवस्थापनमा समेत सहज भएको होमस्टे सञ्चालक समिति सिउँरुङका अध्यक्ष सन्तकाशी गुरुङले जानकारी दिए।
सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउलेहरु लागेका हुन्। समुन्द्री सतहदेखि १८ सय ५४ मिटर उचाईमा अवस्थित सिउरुङमा एकसय १५ घर रहेका छन्। प्राकृतिक सुन्दरता, न्यानो आतिथयता, गुरुङ्ग संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटु, कृष्णचरित्र, लोक दोहोरी, रोधिलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको चलन हो। स्थानीयले गाउँमै उत्पादन गरेका मकै, धान, कोदो, भट्टमास लगायत हरियो सागसब्जी, गेडागुडि, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन्। स्थानीयको स्वागत सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ।
गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपयोगी भएको छ। बुढाबुढीले धान्दै आएका यस्ता कार्यक्रमहरु पछिल्लो समय युवायुवतीहरुले पनि सिको गर्दै आएका छन्। सिउरुङबाट मनास्लु, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्ण लगायतका हिमालहरु आँखै अगाडि देखिन्छन्। यहाँबाट सुर्योदयको दृश्य पनि हेर्न सकिन्छ।
सदरमुकाम बेसीशहरदेखि सिउरुङ गाउसम्म मोटर पुगेको छ। हिडेर आउन नसक्नेहरुका लागि मोटरबाटो आएपछि झन सजिलो भएको छ। लमजुङको बेसीशहरदेखि करिव २ घण्टामा गाडिमा सिउरुङ पुग्न सकिन्छ। सिउरुङ गाउँबाट कालाघिरिङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटोपनि छन्। यो पदयात्रा मार्ग सञ्चालन हुन सके पर्यटकको बसाइ लम्बाउन सकिने सरोकारवालाहरु बताउँछन् ।