प्रदेश २ मा एसईई परीक्षा अगाडि नै प्रश्नपत्र आउट गर्ने प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश नं. २ प्रहरी कार्यालयले सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरी चैत १४ र १५ गतेको परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्ने प्रहरीमा इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत ब्रम्हदेव सुनरैत र दिपेन्द्रकुमार मण्डल छन्। यसैगरी पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन्।
प्रहरीको भनाईमा चैत १४ गतेको सामाजिक र १५ गतेको विज्ञानको प्रश्नपत्र ब्रम्हदेव सुनरैतबाट आउट भएको हो। उनले प्रश्नपत्रको फोटो खिचेर दाइ विष्णदेव यादवलाई पठाएका थिए। उनीहरुले १ हजारदेखि ४ हजारसम्ममा प्रशनपत्र बेचेको प्रहरीले जनाएको छ।
परीक्षाअघि नै सामाजिक र बिज्ञानको प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्रालयले प्रदेश नम्बर २ को बाँकी सबै परीक्षा स्थगित गरेको थियो।