गएको साउनयता पाल्पामा डेंगुका ५ बिरामी देखिएका छन् । साउनमा २ बिरामी फेला परेकोमा भदौमा ३ बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन् ।
तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेंगु संक्रमण देखिएको थियो । भदौ दोस्रो साता रम्भा गाउँपालिकामा १, माथागढी गाउँपालिकामा १ र पूर्वखोलामा गाउँपालिकामा १ जना डेंगु संक्रमित फेला परेको कार्यालयले जनाएको छ ।
तराईलगायत अन्यत्र जिल्लामा घुमफिर काम विशेषले गएका बखत त्यहीँबाट संक्रमण सरेर आएका बिरामी पाल्पामा फेला परेको सूचना अधिकारी ज्ञवालीको भनाइ छ । 'पाल्पाभित्रै डेंगु देखिएको छैन, बाहिर अन्यत्र जिल्ला तथा स्थानमा पुगेका व्यक्तिमा त्यहाँबाटै संक्रमण भएको पाइएको छ, जिल्लाभित्रै रोगको संक्रमण फैलिएको भनेर आत्तिनुपर्ने अवस्था छैन,' उनले भने ।
संक्रमितको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरिएको छ । गत वर्षको भदौमा जिल्लामा ७ बिरामी भेटिएका थिए । यो रोग एडिप्टाई नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने, शरीर पूरै ढाक्ने गरी कपडा लगाउने गरियो भने डेंगु रोग लाग्नबाट बच्न सकिन्छ ।
अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नुजस्ता डेंगु रोगका लक्षण हुन् । डेंगु संक्रमणले दिमागमा असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीको अनुरोध छ । शरीरमा भएको रगतको मात्रा प्लेटेड नामक तत्त्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ ।
बर्खाको मौसमसँगै देशभर विभिन्न रोगको संक्रमण देखिएको छ । सर्पदंश, झाडापखाला, ज्वरोसँगै डेंगुका रोगी पनि बढ्दै गएको पाइएको हो ।
विशेषगरी लामखुट्टेबाट सर्ने डेंगु हाम्रै हेलचेक्रयाइँले सर्ने गर्छ । मानव स्वास्थ्यमा निकै जोखिम मानिने डेंगुको संक्रमणबाट जोगिन केही सावधानी त पक्कै पनि अपनाउनुपर्ने आवश्यक देखिन्छ ।
अझ तराई क्षेत्रमा विशेष रुपमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा समेत देखिन थालेको छ । पहाडी क्षेत्रमा पनि डेंगुका बिरामी पाइनुले सरसफाइमा ध्यान नदिनु प्रमुख कारण रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेंगु संक्रमण देखिएको छ । पछिल्लो समय मुलुकका झन्डै ४२ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको स्वास्थ्य मन्त्रालयको आँकडा छ ।
उदेकलाग्दो त राजधानी उपत्यकामा सर्वसाधारणसँगै चिकित्सक र नर्सहरुमा समेत डेंगु संक्रमण देखिएको छ । काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ डाक्टर, ३ नर्स, ३ कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेंगु संक्रमण पनि देखिएको अवस्था छ । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंमा डेंगु उच्च जोखिमका रूपमा देखिएको बताए । उनले भने, 'अब उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ ।'
यता काठमाडौं, भक्तपुर, ललितपुरमा पनि डेंगु संक्रमित बढेका छन् । अहिलेसम्म भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण देखिएकाले जिल्लालाई उच्च जोखिम मान्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
यी हुन् लक्षण
संक्रमितमध्ये सबैमा डेंगुको लक्षण दैखिँदैन । कतिपयमा सामान्य ज्वरो आँउछ । करिब ३ प्रतिशतमा बान्ता आउने, पेट दुख्ने, शरीरमा पानी जम्ने, रक्तश्राव हुने र मिर्गौलामा असर देखिनेजस्ता समस्या देखिन्छन् ।
भाइरस शरीरमा प्रवेश गरिसकेपछि कडा ज्वरो आउँछ । जोर्नी र मांसपेशी दुख्ने । आँखाको गेडी र ढाडमा पीडा हुने, रगतमा सेता रक्तकोषको कमी हुनेजस्ता समस्या देखिन्छन् ।
एकपटक डेंगुबाट प्रभावित व्यक्तिमा पुनः संक्रमण हुने सम्भावना अधिक रहन्छ । डेंगु भएको समयमा जन्मिएका बच्चामा तथा प्रतिरोधी क्षमता उच्च भएका मानिसमा डेंगुले जटिल समस्या निम्त्याउने खतरा हुन्छ । जटिल खालको डेंगु भए मानिसको ज्यान पनि जान सक्छ ।
डेंगु संक्रमणबाट जोगिन के गर्ने ?
डेंगु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झाडी नराख्न, फोहोर नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । यस्तै ज्वरो, बान्ता आए नजिकको उपचार केन्द्रमा गई जचाउँनुपर्छ । यसलाई हेलचेक्रयाइँ गरे अंगभंग हुनुका साथै ज्यानैसमेत जाने जोखिम उत्तिकै हुन्छ ।
एडिज नामक लामखुट्टेको लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुन्छ । गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी र टायर आदिमा जमेको पानीमा यसले अन्डा पार्ने सम्भावना ज्यादै रहन्छ । तसर्थ, यस्ता ठाउँ सधैँ सफा राख्नुपर्छ । पानी राख्ने भाँडा छोपेर राख्नुपर्छ ।
घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे छर्किन सकिन्छ । सुत्दा झुलको अनिवार्य प्रयोग गर्नुपर्छ।