न्यादी हाइड्राेको लापरवाहीले उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाईचे गाउँ जोखिममा पर्न थालेको छ। गाउँ नजिकैको निर्माणधीन हाइड्राेपावरले सुरूङ खन्दा लगातार बम विस्फोट गरेपछि गाउँ जोखिममा पर्न थालेको हो।
गुरूङ समुदायको मात्र बसोबास रहेको नाईचे गाउँमा ६६ घरधुरी छन्। ३० मेगावाटको उक्त हाइड्राेपावरले गाउँको १ सय ३० मिटरनजिकै सुरूङ खन्दा ठूला आवाज आउनुका साथै घरहरू थर्किने र चर्किने गरेका छन्। यसले स्थानीय त्रसित भएका छन् भने दिनप्रति दिन जोखिम बढ्दै गएको छ।
गाउँनजिकै सुरूङको ब्रेक थ्रू राखिएकाले चौविसै घण्टा गाउँमा ठुलो आवाज आउने गरेको स्थानीय तुलसीरा गुरूङले बताए। ‘बालबालिकालाई पढ्न र लेख्न निकै समस्या भएको छ, गाउँ आएका नयाँ पाहुन आउँदा रातभरि निदाउँदैनन्,’ उनले भने। स्थानीय स्तरमा पाईने ढुंगा र माटोबाट बनेको घर चर्कदा अहिले चिन्ता लागेको स्थानीयको भनाइ छ।
२०७२ को महाभुकम्पले नाईचे गाउँलाई असर गरेन। तर हाइड्राे पावरले सुरूङभित्र बम विस्फोट गरेपछि निकै ठूलो असर परेको स्थानीय बताउँछन्। घरहरू चर्कन थालेपछि कति बेला के हुने हो भनेर डर लाग्ने लक्ष्मी गुरूङले बताइन्। उनी भन्छिन्, ‘हाइड्राेलाई धेरैपटक जानकारी गराएपनि कुनै चासो दिएको छैन।’ कतिपय घरहरू उच्च जोखिममा रहेको उनले बताइन्।
ढुङ्गा र माटोले बनाएको घरमा कतै–कतै चर्किनु स्वाभाविक भएपनि सुरूङभित्र बम विस्फोट गर्दा गाउँलाई खासै असर नगरेको हाइड्राे सञ्चालकहरू बताउँछन्। स्थलगत निरीक्षण गरेपछि जोखिमयुक्त घरहरू तत्काल पुननिर्माण गर्ने न्यादी हाइड्राे पावर कम्पनीका प्रोजेक्ट म्यानेजर उत्तम अमात्यले बताए।
‘गाउँमा हाइडोपावर आयो अहिले जा भन्न पनि भएन । त्यसोभन्दा हामीलाई विकास विरोधी भन्लान्,’ भीमबहादुर गुरूङले भने, ‘अहिले हामीलाई सुरक्षित स्थानमा सारेर काम गरेको भए खतरा पनि कम हुन्थ्यो।’ अहिले स्थानीय गाउँ छाडेर जान पनि सकेका छैनन्। हाइड्रोपावर सञ्चालकले पनि गाउँको सुरक्षाका लागि कुनै पहल गरेको छैन। स्थानीयले समय–समयमा आन्दोलनमार्फत् माग गर्दै आएका छन्।
हाइड्रो पावर सञ्चालकहरूले सिमेन्टको व्यवस्था गरिदिने र आफैं मर्मत गर्न भनेको स्थानीय बताउँछन्। तर, अधिकांश स्थानीयले भने परापूर्वकालदेखि आफूहरू बस्दै आएको थातथलो पुनर्निर्माण हुनुपर्ने अडान राखेका छन्।
स्कुले बालबालिकालाई प्रत्यक्ष असर
नाईचे गाउँको नयाँज्योति आधारभूत स्कुलमा करिब ४० विद्यार्थी अध्ययनरत छन्। स्कुलनजिकै सुरूङको बेक्र थ्रू राखिएकाले ठूलो आवाजले विद्यार्थीमा पढाईलाई मात्र होईन शारीरिक र मानसिक रूपमा पनि प्रत्यक्ष असर पारेको स्कुलका प्रध्यानध्यापक कविजङ गुरूङले बताए। गुरूङले भने, ‘सुरूङभित्र बम विस्फोट हुदाँ विद्यार्थीहरू डरले भागाभाग गर्दा नियन्त्रण गर्न गाह्रो हुन्छ ।’