परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संघीय सरकारले प्रदेश सरकारको पीडा बुझेको बताएका छन्। उनले प्रदेश सरकारलाई सरकारलाई चलायमान बनाउन संघीय सरकार तत्पर रहेको बताए।
मंगलवार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले तीनै तहका सरकारबीच समन्वय भए मात्रै देशको विकास हुने बताए। ‘एक्ला–एक्लै भएर कुनै पनि सरकार हिड्न सक्ने अवस्था छैन,’ मन्त्री ज्ञवालीले भने, ‘समृद्धिका लागि सबै सरकारको समन्वयको आवश्यकता छ।’ उनले त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको र प्रदेश सरकारले अब धेरै चिन्ता लिन नपर्ने बताए।
उनले सरकार ठूला–ठूला र महत्वपूर्ण विकासका आयोजनाहरु बनाउन, भ्रष्टाचार रोक्न र जनतालाई अनुभूति हुने गरी राहतका कार्यक्रमहरु ल्याउन लागि परेको बताए। सरकारको ९ महिनाको उपलब्धि विगतका सरकारले गरेको भन्दा अव्बल रहेको दाबी उनको छ।
कर्मचारी कम भएका कारण संघ, प्रदेश र स्थानीय तहबीच अन्यौलको अवस्था आएको जानकारी उनले दिए। उनले प्रदेश र स्थानीय तहको अधिकार उनीहरुमै निहीत रहेको पनि बताए।
पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थकालीले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि सरकारले कडा कदम चाल्ने बताइन्। उनले महिलाले राजनीतिक लगायतका अधिकारहरु पाएपनि व्यवहारतः विभेद कायमै रहेको बताइन्।