गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका छन्। लमजुङको घलेगाउँ स्मार्ट भिलेज शुभारम्भ कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो घोषणा गरेका हुन्।
संघीय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले विदा दिने जानकारी गराएका हुन्। उनले प्रदेश मन्त्रिपरिषदबाट निर्णय गरी सार्वजनिक विदा दिइने उल्लेख गरे।
फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले आर्थिक समृद्धि शहरमा मात्र सीमित नभएको दाबी गरे। पर्यटन नै मुलुकको आर्थिक समृद्धिको खुट्किलो भएको भन्दै उनले शहरी क्षेत्रको पर्यटनले मात्रै समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे।
पर्यटन विकासको निम्ति शहरी क्षेत्रमामात्र सीमित नभई प्रदेशका दुर्गम जिल्लामा पनि ग्रामीण पर्यटन विकासको लागि प्रदेश सरकारले विशेष कार्यक्रम तय गरेको उनले जानकारी गराए।
नेपालकै पहिलो स्मार्ट भिलेजको शुभारम्भ गर्दै मुख्यमन्त्री गुरुङले प्रकृति र सँस्कृतिले धनी पर्यटकीय गाउँहरुलाई प्रविधिमैत्री बनाउन सके पर्यटन विकासले फड्को मार्ने बिश्वास व्यक्त गरे। उनले ग्रामीण पर्यटनको विकास गर्न सके गाउँमै रोजगारीको बातावरण सिर्जना गर्न सकिने दाबी गरे।
दक्षिण एसियाकै नमूना घलेगाउँलाई थप पर्यटन प्रवद्र्धनका लागि स्मार्ट भिलेजको रुपमा विकसित गरिएको हो। घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा विकसित गर्न पूर्वाधार विकासको क्रम पनि शुरु गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ।