प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लमजुङले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ।
प्रतिपक्षी दल कांग्रेसको अबरोधकाबीच संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै नेविसंघका कार्यकर्ताले आईतवार बेलुका लमजुङ सदरमुकाम बेसिशहरको शेराबजारमा पुत्ला दहन गरेका हुन्।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न र वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचारको छानविन गर्न माग पनि नेविसंघले गर्दै आएको छ।
नेविसंघ लमजुङको जिल्ला सदस्य सुवास अधिकारीको नेतृत्वमा पुत्ला दहन गरिएको हो। कार्यक्रममा नेविसंघ लमजुङका पुर्व सचिव दिपक अधिकारी, मस्र्याङदी बहुमुखी क्याम्पस नेविसंघका सभापति सन्दिप गुरुङ, सचिव रविन गुरुङ लगायत विद्यार्थी नेताहरुको सहभागिता थियो।
सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन थाल्ने घोषणा कांग्रेसले गरिसकेको छ। कांग्रेसको घोषणा पछि उसका भातृ संगठनहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।