जिल्लामा अस्थाई साधन प्रयोग गर्नेहरुको संख्या अत्यन्तै न्यून देखिएको छ । लमजुङमा रहेको दम्पतीहरुभन्दा किशोरकिशोरीहरुमा अस्थाई साधनको प्रयोग झन न्यून देखिनु सरोकारवालाहरुको पनि चिन्ताको विषय बन्न थालेको छ ।
जिल्लामा रहेका ३९ हजार दम्पतीहरुमध्ये करिब ६१ प्रतिशतले अस्थाई साधन प्रयोग नगर्ने जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको तथ्याङ्कले देखाउँछन् । १५ हजार १५ जनाले मात्रै अस्थाई साधन प्रयोग गर्ने गरेको २३ हजार ९ सय ८५ दम्पतीले अस्थाई साधन प्रयोग नै गर्दैनन् । अस्थाई साधन परिवार नियोजनको लागि मात्रै नभएर मुख्यतः मानव स्वास्थ्यको हितका लागि भएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । तर स्वास्थ्यको दृष्टिकोणले लमजुङमा अस्थाई साधन न्यून मात्रमा प्रयोग हुने गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको माताहतमा रहेका ७५ स्वास्थ्य संस्थाहरुबाट परिवार नियोजनको अस्थाई साधनहरु वितरण हुने गरेको छ । खासगरी अस्थाई साधनहरुमा पुरुषले प्रयोग गर्ने कण्डम, महिला तथा पुरुषको स्थाई बन्ध्याकरण, महिलाले प्रयोग गर्ने पिल्स, तीन महिने डिपो, इम्प्लान्ट (नरप्लान्ट) र आईयूसीडी रहेका छन् ।
अस्थाई साधनहरुमध्ये दम्पती र अविवाहितहरुले कण्डम र पिल्स बढी प्रयोग गर्ने गरेका छन् । विवाहित दम्पतीहरुका पुरुषहरुले अस्थाई साधनमा स्थायी बन्ध्याकरण र कण्डमले पहिलो स्थान पाएको छ भने विवाहित महिलाहरुले स्थाई बन्याकरण गर्ने, न्यून मात्रमा पिल्स, अधिक मात्रमा डिपो, आइयूसीडी, इम्प्लान्ट प्रयोग गर्ने गरेका छन् ।
गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पुरुषले प्रयोग गर्ने साधनमध्ये स्वास्थ्य संस्थाहरुबाट ४ लाख २ हजार ७ सय ५० कण्डम वितरण भएको छ । तथ्याङ्क अनुसार ३३ पुरुष ८३ महिला गरी एक सय १६ जना दम्पतीहरुहरुले स्थायी बन्ध्याकरण गरेका छन् । अस्थाई साधनमध्ये पिल्स (खाने चक्की) ९ सय १४ जना, डिपो (तीन महिने, पाखुरामा प्रयोग गरिने) एक हजार सात सय १७ जना, इम्प्लान्ट (नरप्लान्ट, ५ वर्षका लागि प्रयोग गरिने) आठ सय ८३ जना, आईयूसीडी (१२ वर्षका लागि योनीभित्र प्रयोग गरिने) एक हजार दुई सय ५४ जना महिलाहरुले प्रयोग गरेको परिवार नियोजन सुपरभाइजर कौशलकुमार भण्डारीले बताए ।
जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुबाट कण्डम, डिपो र पिल्स वितरण हुने गरेको छ । २९ वटा स्वास्थ्य संस्थाहरुबाट आईयूसीडी, २४ वटा स्वास्थ्य संस्थाहरुबाट इम्प्लान्ट, ४ वटा स्वास्थ्य संस्थाहरु खुदी स्वास्थ्य चौकी, धमिलीकुवा स्वास्थ्य चौकी, चिसंकु स्वास्थ्य चौकी र सुन्दरबजार अस्पतालबाट निःशुल्क गर्भपतन सेवा उपलब्ध छ भने स्थाई बन्ध्याकरण एचडीसीएस लमजुङ सामुदायिक अस्पतालबाट मात्रै सेवा प्रवाह हुन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको माताहतमा रहेको सबैभन्दा ठूलो स्वास्थ्य संस्था एचडीसी लमजुङ सामुदायिक अस्पतालबाट सबैभन्दा धेरै सेवा प्रवाह भएको छ । एआर्टी विभाग प्रमुख गणेश गुरुङका अनुसार कुनै दिन त दुई हजार कण्डम बितरण हुने गरेको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा एचडीसी लमजुङ सामुदायिक अस्पतालबाट डिपो एक सय १९ जना, पिल्स ५३ जना, इम्प्लान्ट (नरप्लान्ट) एक सय ५५ जना, आईओसीडी सेवा दुई सय ४४ जनाले सेवा लिएको एआर्टी विभाग प्रमुख गुरुङले बताए ।
अविवाहित युवाहरुले अस्थाई साधनको रुपमा कण्डम प्रयोग गर्ने गरेका छन् भने अविवाहित युवतीहरुले पिल्सबाहेक अन्य अस्थाई साधनहरु प्रयोग गर्ने गरेका छैनन् । अविवाहित महिलाहरु खासगरी पुरुषले प्रयोग गर्ने कण्डममा निर्भर रहेका छन् । विवाहित महिला र पुरुष (दम्पती) ले भन्दा अविवाहित युवायुवतीहरुले अस्थाई साधनको प्रयोग कम मात्रमा गर्नु समाजको अस्वास्थ्यताको संकेत पनि हो । पछिल्लो समय अस्थाई साधनको प्रयोग न्यून रुपमा गर्दा नेपाली समाजमा युवायुवतीहरुबाट विकृतिको स्वरुप पनि फैलिएको छ । खासगरी गाउँ र बजार क्षेत्रमा बसोवास १२ वर्ष उमेरदेखि अविवाहित युवायुवतीहरुमा अस्थाई साधनको दुरुपयोग गर्ने (यौन क्रियाकलाप अस्थाई साधनको प्रयोग नगर्ने), लागू औषध प्रयोग गर्ने जस्ता क्रियाकलाप देखिएका छन् ।
स्वास्थ्य संस्थामा गएर अस्थाई साधन माग्न लाज मान्ने अविवाहित युवतीहरुले बजारमा रहेका मेडिकल पसलबाट ईकोन र आइपिल्स किनेर प्रयोग गर्ने गरेका छन् । यसको यकिन तथ्याङ्क भने जिल्लामा छैन । सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना ल्याए पनि अधिकांश किशोरकिशोरीहरु अस्थाई साधनको प्रयोग अत्यन्तै कम मात्रमा गर्ने गर्दछन् । हुन त सामाजिक जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारलगयत कारणहरुले अस्थाई साधनको प्रयोग न्यून भएको विज्ञहरु बताउँछन् ।
सम्वन्धीत स्वास्थ्य संस्था र सरोकारवाल निकायले राष्ट्रिय स्तरबाट पनि अस्थाई साधन प्रयोग गर्ने वातावरणको सचेतना गर्न सकिएमा नेपालमा स्वास्थ्य समाजको निर्माण गर्न सकिने देखिन्छ ।