लमजुङको प्रसिद्ध धार्मिकस्थल दुधपोखरी कुण्ड प्रचारप्रसार र प्रवद्र्धनको अभावले ओझेलमा परेको पर्यटकीय स्थल हो। सामुद्रीक सतहवाट करिब चार हजार सात सय मिटरको उचाइमा रहेको छ दुधपोखरी कुण्ड।
उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकामा पर्ने दुधपोखरी कुण्ड लमजुङ, कास्की र मनाङको सिमानमा अवस्थित छ। विशेष गरी जनैपूर्णिमाको अवसरमा मेला लाग्ने भएकाले आन्तरिक र बाह्य पर्यटकको निकै घुइचो लाग्ने गर्दछ। कुण्डमा गएर नुहाएमा आफ्नो मनोकांक्षा पुरा हुने र सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ती हुने जनविश्वास रहेको छ।
मानवबस्तीवाट निकै टाढा रहेकाले दुधपोखरी पुग्न करिब तीन दिन पैदल यात्रा गर्नुपर्छ। मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङका बुद्धिजीवी बखत बहादुर गुरुङले बताए उचित पदमार्गको व्यवस्था नहुँदा पैदल यात्रीलाई निकै कठिन हुने गरेको बातए। लामो यात्राका क्रममा पर्याप्त धर्मशाला, खानेपानी नहुँदा पर्यटकहरुलाई समस्या भएको गुरुङको भनाइ छ।
लमजुङको पर्यटकीय गाउँ सिउरुङ, घनपोखरा, ताघ्रिङ कास्कीको सिक्लेस र मनाङको तिमाङ गाउँवाट दुधपोखरी पुग्न सकिन्छ। थोरुजु फाँट, कालो पोखरी, बाङ्गे खोला जस्ता दर्जनौँ तालतलया, विभिन्न हिमश्रृंखलाहरुको पनि अवलोकन गर्ने सकिन्छ। पर्यटन विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने स्थानीयहरु बताउँछन्। नयाँ रुटहरुमा पदमार्ग, क्याम्पि साइट, पदचिह्नक स्थानीयवासीमा पर्यटकमैत्री व्यवहारको विकास गराउन आवश्यक भएको स्थानीयको माग छ।
पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार गर्न सके पर्यटक बृद्धि हुने मस्र्याङ्दी गापा– १ घनपोखराका स्थानीय सोम बहादुर गुरुङले बताए। गुरुङ भन्छन्,‘दुधपोखरीसम्म पुग्ने अव्यवस्थित पदमार्ग, विजुली, सञ्चार सेवाले पर्यटकहरुलाई असहज भएको छ।’
दुधपोखरी धार्मिक, साँस्कृतिक, प्राकृतिक र सामाजिक हिसाबले निकै महत्वपूर्ण छ। धेरै विशेषताले भरिपूर्ण भएपनि विकास र प्रबद्र्धनमा सरकारको नजर पुग्न नसकेको छैन। म्यार्दी खोलाको मुहानसमेत रहेको स्थानको संरक्षणमा न त सरकारी निकायको ध्यान पुगेको छ न त स्थानीय सरकारको नै पहल छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको दुधपोखरी कुण्ड संरक्षण प्रवद्र्धन र प्रचार प्रसार गर्न सके सिंगो लमजुङको विकासमा टेवा पुग्ने देखिन्छ।