दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस्, समयमै अस्पतालसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेको हुन्छ। तर, लमजुङका ग्रामिण भेगका लागि सञ्चालित अधिकांश एम्बुलेन्सहरु शहर बजारमै थन्किरहेका देखिन्छन्।
समुदायका नागरिकलाई अत्यावश्यक सेवा दिने भनेर रकम उठाएर एम्बुलेन्स सञ्चालन गर्छन्। खबर गर्दा सम्पर्कमा आएपनि ग्रामिण सडकमा जानलाई नमान्ने स्थानीयको भनाइ छ। मनपरी भाडा लिने र भनेअनुसार भाडा नदिए बिरामी नलैजाने गरेकाे बेसीशहर नगरपालिका–७ का बलबहादुर गुरुङले बताए। गुरुङ भन्छन्,‘बिरामी पर्दा आफन्तले बोकेरै अस्पताल पुर्याउने गरेका छौं।’
‘गाउँमा कहिले एम्बुलेन्स बस्दैन, एक्कासी बिरामी परेपनि कि त घण्टौ एम्बुलेन्स कुर्नुपर्छ, कि त बोकेर बिरामीलाई अस्पताल पुर्याउनुपर्छ,’उनले भने,‘एम्बुलेन्स सेवा दुर्गमको नागारिक भन्दा पनि शहर बजारका पहुँचवाललाई मात्र जस्तो देखिन्छ।’ स्थानीय समुदायलाई सहज होस् भनेर सञ्चालनमा ल्याइएका एम्बुलेन्सहरु गाउँमै नबसिदिँदा समस्या चुलिएको सुन्दरबजार नगरपालिका–४ का रुपेश खनियाले बताए
गुनासो बढेपछि समिति र जिल्ला जनस्वास्थ्यको टोलीले संयुक्त रुपमा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा एम्बुलेन्सको भाडादरमा एकरुपता नभएको, अधिकांश चालकलाई एम्बुलेन्समा नियुक्ति पत्र नदिएको, प्रथामिक उपचारबारेमा चालक अनविज्ञ रहेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य अघिकृत मनोज सिंह बोहाराले बताए। उनका अनुसार एम्बुलेन्सहरु तोकिएको क्षेत्रलाई प्रथामिकता नदिई अन्यत्र क्षेत्रमा जाने गरेको समेत भेटिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार लमजुङ करिब २२ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ। १५ दिनको समय दिएर जिल्लामा सञ्चालित रहेका एम्बुलेन्सहरुलाई नविकरण गर्न र प्रतिवेदन नियमित रुपमा बुझाउन तत्काल सुचना जारी गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।