रामेछाप नगरपालिकाले नगरभित्रका माध्यमिक विद्यालयका छात्राहरुलाई महिनावारी भएको बेला प्रयोग गर्ने प्याड वितरण गरेको छ।
महिनावारीका बेला छात्राहरु विद्यालय नआउने, आए पनि कक्षा छाडेर बीचैमा हिड्ने जस्ता समस्या देखिएपछि रामेछाप नगरपालिकाले नगरक्षेत्रका १३ माध्यामिक विद्यालयमा सेनिटरी प्याड बितरण गरिएको हो।
रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामीण विजनेश प्रमोशन प्रालि रामेछापको सहजीकरणमा स्थानीय स्तरमै उत्पादन गरिएको घरेलु प्याड बितरण गरिएको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताइन्। नगरपालिकाले आफनो पालिका भित्रका ९ वटै वडाका महिलालाई लागि घरेलु स्यानीटरी प्याड बनाउने तालिम दिएको छ।
पहिलो चरणमा रामेछाप नगरपालिका– १ गोठगाउँको चण्डेश्वरी मावि र वडा नम्बर ३ साँघुटारको हिमगंगा माविमा बितरण गरिसएिको छ भने बाँकी विद्यालयमा क्रमश वितरण गर्देै जाने ग्रामीण विजनेश प्रमोशन प्रालि रामेछापका अध्यक्ष गुञ्ज बहादुर कार्कीले जानकारी दिए। उनका अनुसार घरेलु उत्पादनको स्यानीटरी प्याड एकपटक प्रयोग गरिसकेपछि पुनः सफा गरेर पटक–पटक प्रयोग गर्न सकिनेछ।
रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण पौडेलले यसवाट छात्राको पढाईमा सहज भएको छ। महिनावारी भएको समयमा संकोचका कारण विद्यालय जान मन लाग्दैनथ्यो अब भने त्यो समस्या नरहेको गोठगाउँकी छात्रा सृजना सापकोटाले बताइन्।
३ नं प्रदेश अन्तगरत रहेको रामेछाप जिल्लाका सबै माध्यामिक विद्यालयमा चालु आर्थिक बर्षदेखि नै एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्ने तयारी भैरहेको र उक्त कार्यक्रम लागु भएपछि भने यसको ब्यवस्थापन र बिस्तारका लागि अझै सजिलो हुने जिल्ला समन्वय समितिका प्रमुुख प्रेम खड्काले बताए।