लमजुङको बेसीशहर–चामे सडकखण्ड अवरुद्ध भएको छ।
बेसीशहर नगरपालिका–६, बेलौती विसौनी नजिक गएराति ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो। पहिरो लामो, ठूलो भएको र सडक समेत भास्सिएको कारण एक्साभेटरले पहिरो हटाउन नसकिएको लमजुङ प्रशासनले जनाएको छ।
तत्काल ठूलो मेसिन उपलब्ध हुन नसक्दा पहिरो हटाउन केही दिन लाग्न सक्ने र यसका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले जानकारी दिए।
पहिरोले पैदल यात्रुसमेत हिड्न कठिनाइ भएपछि तत्कालका लागि प्रहरी परिचालन गरी पैदल यात्र गर्नसक्ने बनाइएको छ। पहिरोस्थलमा माथिबाट ढुंगा झरिरहेकाले प्रहरीको सहायतामा यात्रुहरुलाई पहिरो कटाउने गरिएको छ।
यातायात अवरुद्ध भएपछि जिल्लाको उत्तरी भेग हुँदै मनाङ पुग्नेहरु अलपत्र परेका छन् भने सदरमुकाम आउने सेवाग्राहीहरुपनि प्रभावित भएका छन्। पहिरोका कारण अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरु पनि पहिरोका कारण समस्यामा परेका छन्।