कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बर्सेनि अपराध बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशका १० जिल्लाको आपराधिक तथ्यांकअनुसार प्रदेश राजधानीमा आपराधिक घटना बढ्दो रहेको जानकारी दिएको छ ।
तथ्यांकमा आर्थिक बर्ष २०७२ देखि चालु आव २०७४/०७५ को तीन बर्षमा कूल तीन हजार ८८५ वटा आपराधिक घटना भएकोमा प्रदेश राजधानीमा मात्रै सवैभन्दा धेरै एक हजार ३८४ वटा घटना भएको उल्लेख छ । सुर्खेतपछि सल्यानमा ५४५, रुकुममा ४८० र दैलेख ४२९ घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा छ । यस्तै जुम्लामा २९३, जाजरकोटमा २४८, कालिकोटमा २२४, मुगुमा ११७, डोल्पामा ११० र हुम्लामा सवैभन्दा थोरै ५५ वटा आपराधिक घटना भएको उल्लेख छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले सुर्खेतमा ज्यानसम्वन्धी घटना २३१ वटा बताए । जसमा कर्तव्य ज्यान २७, ज्यान मार्ने उद्योग २८, भवितव्य ज्यान १३७ र फुटकर ज्यान ३९ वटा घटना भएका छन् । यसैगरी आत्महत्यासम्वन्धी २७४ वटा घटना भएका छन् । यसमा झुण्डिएर २०७, विष खाएर ६४, हामफालेर दुई र औजारबाट हत्या एउटा घटना भएको डिआईजी शाहले जानकारी दिए ।
यसैगरी चोरी ४९, जुवा ३१, ठगी ११, लागूऔषध १०१, कीर्ते ७, हातहतियार तथा खरखजाना ६, केही सार्वजनिक अपराध ३३२ वटा आपराधिक घटना सुर्खेतमै अन्य जिल्लाको तुलनामा बढी भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै मानव बेचविखन १०, बहुविवाह ६४, जबर्जस्ती करणी ११०, जबर्जस्ती करणी उद्योग ३१, सवारी ज्यान ८२, विष्फोटक पदार्थ सात, बैंकिङ कसुर ९, अपहरण ६, जातीय छुवाछूत ३ र कालोबजारीका ३ घटनाहरु सो अवधिमा भएका छन् ।
प्रदेशका १० जिल्लामध्ये सुर्खेत सुगम भएको, यसको सीमाना धेरै जिल्लासंग जोडिएको, अन्य जिल्लाको प्रवेशद्वार भएको, जनघनत्व तथा सवारी चाप बढेकाले आपराधिक घटना पनि बर्षेनी बढ्दै गएको डिआईजी शाहले बताए ।
प्रदेश राजधानीमा अपराधका घटना बढ्दै जान थालेपछि प्रहरीले सुरक्षित सुर्खेत बनाउने अभियान चलाउने भएको छ । विकाससंगै सामाजिक विकृति बढेको, आर्थिक कारोबारमा बढोत्तरी भइरहेकाले सुरक्षित सुर्खेत बनाउने अभियान थाल्ने तयारी भइरहेको जानकारी डिआईजी शाहले दिए ।
त्यसका लागि सुर्खेत प्रवेशका ६ वटा नाकामा स्मार्ट प्रहरी पोष्ट स्थापना गर्नेलगायतका योजना राखिएका छन् । बांगेसिमल, कपासे, धुलियाविट, सुव्वाकुना, छिन्चु र बबईमा सिसी क्यामरासहित प्रविधियुक्तको स्मार्ट प्रहरी पोष्ट स्थापना गरिनेछन् । राजधानीलाई सुरक्षित बनाउन सकियो भने अन्य जिल्लामा अपराध नियन्त्रण गर्न सहज हुने डिआईजी शाहको भनाइ छ । यही पुसदेखि सुरक्षित सुर्खेत बनाउने अभियान प्रहरीले थाल्ने उनले बताए । त्यसका लागि उनले सवै पक्षसंग सहयोगको आव्हानपनि गरेका छन् ।
एसपी रजौरै उत्कृष्ट प्रहरी प्रमुख
यसैवीच सुर्खेतका प्रहरी प्रमुख एसपी बसन्त रजौरेलाई प्रदेश प्रहरी कार्यालयले कार्यसम्पादनका आधारमा उत्कृष्ट प्रहरी घोषणा गरेको छ । अपराध न्यूनीकरण, जनचेतना बृद्धिमा महत्वपूर्ण काम गरेको भन्दै एसपी रजौरेलाई कात्तिकको महिनाको उत्कृष्ट प्रहरी प्रमुखको रुपमा घोषणा गर्दै सम्मानसमेत गरिएको छ । एसपी रजौरेलाई कर्णाली प्रदेश प्रमुख डिआईजी महेशविक्रम शाहले सम्मानपत्रले सम्मान गरे ।
त्यसैगरी कालिकोटका प्रहरी प्रमुख डिएसपी विनोद शर्मा र सल्यानका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र शाहीलाई भदौ र असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।