लामो र कठिन प्रसव पीडाका कारणले महिलाहरुमा देखिने फिस्टुला रोगबाट कर्णाली प्रदेशका अधिकांश महिला पीडित छन् । चेतना र उपचार अभावमा उनीहरु यो रोग पालेरै बस्न बाध्य छन् ।
१६ वर्षको उमेरमा बिवाह गरेकी दार्चुलाकी गौरा धामीलाई पिसाव चुहिने रोगले सताउन थालेपछि घरपरिवारले उपचारको साटो माइतीघर पठाइदिए । उनका अनुसार माइतीले उपचारका लागि सीमावर्ती भारतीय अस्पतालमा समेत पुर्याए, तर पनि समस्या निको भएन । उनले यही अवस्थामा १२ वर्ष गुजारेपछि अर्को बिवाह गरिन् । अहिले परिवारको सहयोगमा उपचारमै छिन् ।
यस्तै समस्याले सताएकी रुकुमकी तोला विष्टले समयमा उपचार नपाउँदा बल्लतल्ल जीवन जोगियो । तर, उनको कष्ट र समस्या भने धेरै छ । उनी भन्छिन् ‘फिस्टुला हुँदा म गर्भवती थिएँ तर, मलाई र मेरो घरपरिवारलाई फिस्टुला भएको थाहा नहुँदा बच्चा पनि मरेको जन्मियो ।’ फिस्टुलाको ३ चोटी अप्रेसन हुँदा समेत निको नभएपछि उनी अहिले फिस्टुला अस्पताल सुर्खेतमा उपचाररत छिन् । अन्य अस्पतालमा फिस्टुला रोगको उपचार नभएपछि उनी सुर्खेत आइपुगेकी हुन् ।
फिस्टुला नर्स ट्रेनर डिलकुमारी पुरी कर्णाली प्रदेशका महिलाहरु मात्रै नभएर अन्य ठाउँबाट पनि फिस्टुलाको उपचार गराउन आउने गरेको बताउँछिन् । कतिपय महिला लोकलाज तथा घरपरिवारले हेला गर्ने भयले यो रोग लुकाएरै बस्ने गरेको उनी बताउँछिन् । स्वास्थ्य संस्थामै प्रसुती गराउँदा फिस्टुलाबाट जोगिन सकिने उनको भनाइ छ ।
मध्य पश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिडेन्टेन्ट डा.डम्मर खड्काले स्वास्थ्य संस्थामा प्रसुती दर बढाउनकै लागि प्रदेश सरकारले पनि सचेतनामुलक कार्यक्रम सन्चालन गर्ने बताए । फिस्टुला रोगले गर्दा अधिकांश महिलाहरु घरभन्दा बाहिर बस्न बाध्य हुने गरेको उनी बताउँछन् । उनका अनुसार फिस्टुला भएका महिला अपहेलित भएर बस्न बाध्य छन् ।
सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशका स्वास्थ्य सेवालाई बढी प्रभावकारी बढाउने प्रयत्नमा रहेको बताए । उनले स्थानीय तह र गाउँ बस्तीमा समन्वय गरेर फिस्टुला अस्पतालमा ल्याइने व्यवस्था गरिने बताए।
कर्णाली प्रदेशमा पछिल्लो नौ वर्ष यता सञ्चालन गरिएका विभिन्न शिबिरमा मात्रै २ सय ५० जना महिलाको फिस्टुलाको शल्यक्रिया गरिएको छ । यो तथ्यांकले पनि यस क्षेत्रमा फिस्टुला ग्रसित महिलाको संख्या धेरै रहेको देखाउँछ ।