लमजुङका गुरूङ समुदायले घरेलु मदिरा उत्पादनमा रोक लगाएर अाफ्नो संस्कारमाथि प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाएका छन्। केही दिनअघि लमजुङ प्रहरीले सदरमुकाम बेसीशहर लगायत विभिन्न ठाउँमा छापा मारेर घरेलु मदिरा नष्ट गरेपछि गुरूङ समुदाय बिरोधमा उत्रिका हुन्।
आफनो परापूर्वकालदेखिको संस्कार, संस्कृतिमा साथै जन्मेदेखि मृत्यु संस्कारसम्म घरेलु मदिराकै प्रयोग हुने भएकाले मदिरा गुरूङ समुदायको सारथी रहेको समेत उल्लेख गरेका छन्। घरेलु मदिरा उत्पादन गर्न पाउनुपर्ने माग गर्दै सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पुगेका गुरूङ समुदायका अगुवाहरूले संस्कार, संस्कृतिमा अनिवार्य प्रयोग हुने बस्तु नियन्त्रण गर्ने नाउ“मा जवर्जस्ती नगर्न आग्रह समेत गरेका छन्।
गुरूङ समुदायले पितृकार्य साथै विवाह, पुटपुटे, अर्घुं, छेवर लगायत कार्यमा घरेलु मदिराको प्रयोग गर्ने भएकाले जवर्जस्ती घरघरै पसेर मदिरा नियन्त्रणमा लिई नष्ट गरिनाले संस्कारसंस्कृति माथिकै हस्तक्षेप भएको उनीहरूको ठहर छ। तमु ह्यूला छोंज धीं गुरूङ राष्ट्रिय परिषद् बेसीशहर इकाईको संयोजकत्वमा बेंसीसहरका ५ वटै गुरूङ टोलसमाजको बैठक बसेर संस्कार संस्कृति तथा घरायसी प्रयोजनका लागि घरेलु मदिरा उत्पादनमा बन्देज नलगाउन प्रशासन र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सोमबार प्रशासनमा मागपत्र बुझाउ“दै इकाईका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरूङले कानुनीले बन्देज लगाएको कुरा प्रशासनले गर्न पाउने तर, संस्कार संस्कृतिमा समस्या पुग्ने काम नगर्न आग्रह गरे। घरेलु मदिरा बिना गुरूङ समुदायको संस्कारसंस्कृति रोकिने भएकाले मदिरा उत्पादन नै बन्द नगरिदिन समेत आग्रह गरेको अध्यक्ष गुरूङले बताए।
तमू प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरूङले हरेक टोलमा व्यवसायिक रूपमा मदिरा बनाउने कार्यको कडाई थालिएको जानकारी दिए। तमु ह्यूला छोंज धींका जिल्ला अध्यक्ष ठाकुर प्रसाद गुरूङले संस्कारसंस्कृति माथिको नियन्त्रणले समुदायमा शान्तिसुरक्षा कायम नहुने भएकाले यसको व्यवहारिक पक्षलाई बुझिदिन आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रशासनले संस्कारसंस्कृतिमाथि नियन्त्रण नभई यसको संरक्षण र संवद्र्धनमा जोड दिने बताए। सामाजिक, सांस्कृतिक चलन र परम्परामा प्रशासनका हस्तक्षेप नहुने भन्दै उनले पसल पसलमा हुने अबैध खालका मदिरा नियन्त्रणका लागि सहयोगी बनिदिन गुरूङ समुदायसंग आग्रह समेत गरे।