उच्च हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। दुई दिनअघि मात्रै परेको हिउ जमिनमा सुक्न नपाउँदै शुक्रबार अपरान्हबाट पुनः हिमपात हुन थालेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ।
माथिल्लो मनाङदेखि सदरमुकाम चामेसम्म करिब पाँच फिट अग्लो हिमपात परेका कारण मनाङको जनजीवन कष्टकर बनेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। हिमपातसँगै तिव्र गतिको हावा चलेपछि जिल्ला सदरमुकाम चामेदेखि माथिल्ला भेगहरुमा अत्याधिक चिसो बढेको छ।
वि.सं २०६५ साल पछिको भारी हिमपात अहिले भएको स्थानीयको भनाइ छ। बाक्लो हिउँ र चिसो हावाको कारण बाहिर निस्कने अवस्थासमेत नरहेको स्थानिय मेगबहादुर विक (म्याक्स) ले जानकारी दिए। हिमपात र अत्याधिक चिसोका कारण सवारी साधन चल्न सकेका छैनन्। हिमपातका कारण मनाङ पुगेका पर्यटकहरु फिर्ता हुन थालेका छन्।
मनाङको तल्लो भागमा अत्याधिक चिसो भएपनि हिउ परेको छैन भने तिमाङदेखि माथि चामे लगायत माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातका कारण जनजीन प्रभावित भएपनि स्थानीय हर्षित र्भका छन्। मनाङमा हिमपात भएसँगै लमजुङको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ। वर्षा र चिसो हावाका कारण जिल्लामा जाडो बढेको छ।