सिरहामा एकै दिन दुई बालिका बलात्कृत भएकी छिन्। बलात्कारविरुद्ध चौतर्फी आवाज उठिरहेको बेला मंगलबार साँझ सिरहामा दुई जना बालिकामाथि बलात्कार भएको हो। धनगढीमाई नगरपालिका–१३ भोरलेनी घर भएकी १४ वर्षीया बालिका बालात्कृत भएकी छन्।
जंगलमा दाउरा टिप्न गएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको आरोपमा सोही वडामा पर्ने खजनपुरका २४ वर्षीय श्रीराम यादवलाई बुधवार प्रहरीले पक्राउ गरेको हो।
जंगलमा दाउरा टिप्न गएको अवस्थामा बालिकालाई मंगलवार साँझ जबरजस्तीकरणी गरी भागेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी, सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा पठाइएको छ।
यस्तै, सिरहाकै गोलबजार नगरपालिका–१०, घुर्मिघाट बस्ने १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा समेत एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही नगरपालिकाका २१ वर्षीय दिपक राई रहेको प्रहरीले जनाएको छ।
घरमा कोही नभएको अवस्थामा बालिकालाई जवरजस्तीकरणी गरेको सूचना प्रहरीलाई प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाबाट खटिएको प्रहरी टोलिले राईलाई पक्राउ गरेको हो।
दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।