सुर्खेत उद्योग बाणिज्य संघको भोलि हुने निर्वाचनले सुर्खेतको व्यापारिक माहौल निकै तातेकाे छ । व्यापारिक माहौल मात्र होइन जिल्लाको राजनीतिक माहौल पनि चर्चामा आएको छ ।
धनबहादुर रावत नेतृत्वको लोकतान्त्रिक प्यानल र प्रकाश उप्रेती नेतृत्वको संयुक्त प्यानल आफ्नो पक्षमा नतिजा पार्न भरमग्दुर प्रयास गरिरहेका छन् । दुवै नेतृत्वले व्यवसायिक हकहितका लागि भनेर आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरिरहेका छन् । यसका साथै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने, व्यवसायीहरुको वीमा, विस्थापित र पलायन व्यवसायीहरुका लागि स्थापित राहत कोष बृद्धि गर्नेजस्ता सामूहिक समस्याहरुलाई आफूहरुको नेतृत्वले समाधान गर्ने दावी गर्दै भोट मागिरहेका छन् ।
विगतमा झैं सधैं कांग्रेस निकटका व्यवसायीहरुको पकडमा हुने उद्योग बाणिज्य संघमा यतिबेला कांग्रेसकै दुई वटा टिम बनेको छ । रावत नेतृत्वको प्यानललाई कांग्रेसको पूर्ण समर्थन छ भने उप्रेती नेतृत्वमा कांग्रेसकै केही र नेकपाका केहीको समर्थन रहेको बताइन्छ ।
त्यतिमात्र होइन संघका पूर्व अध्यक्षहरु यसपटक दुई खेमा विभाजित भएका छन् । स्वघोषित हेवीवेट भनिएका निरक केसी, विष्णुबहादुर शाही, पदमबहादुर शाही र प्रकाश अधिकारी प्रकाश उप्रेतीको नेतृत्वलाई सघाउन पुगेका छन भने अर्का पूर्व अध्यक्ष टेकबहादुर भण्डारी रावत नेतृत्वको पक्षमा लागेका छन् ।
निर्वाचन समितिका अनुसार शनिवार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । संघमा १८९४ मतदाता रहेका छन् । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।