नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले संविधान कार्यान्वयन र पालनामा सरकार गम्भीर नबनेको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा प्रबक्ता शर्माले संविधान कार्यान्वयन र पालनामा सरकार चुक्दै गएको भन्दै त्यसमा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
संघियतालाई सफल बनाउन, प्रदेश र स्थानीय तहका आर्थिक सम्भावना निक्र्योल गर्न संविधानमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्नुपर्ने भनिए पनि सरकार त्यसमा उदासिन देखिएको प्रवक्ता शर्माले बताए ।
६ महिनामा शान्ति सुरक्षाको अवस्था गम्भीर देखिएको भन्दै प्रबक्ता शर्माले त्यसमा पनि सरकार सजग र गम्भीर बन्नुपर्ने धारणा राखे । जनताको विश्वासलाई खण्डित गर्ने दिशामा सरकार अघि बढ्न नहुने उनको तर्क थियो ।
शर्माले सरकारले विकास र समृद्धिका बारेमा गरेका प्रतिबद्धता र बाचाका बारेमा अहिले नै टिका टिप्पणी वा मूल्यांकन गर्न हतार हुने बताए ।
कांग्रेस विवेकी र जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहने प्रष्ट पार्दै उनले तोडफोड गर्ने, कुर्सी भाँच्ने, टायर बाल्ने, बन्द गर्ने काम कांग्रेसले कहिले नगर्ने समेत बताए । कांग्रेसलाई रुपान्तरण गरी नयाँ जीवन दिने गरी आफूहरु लागिरहेको प्रबक्ता शर्माको भनाई थियो ।