उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले एउटै निर्माण कम्पनीले धेरै ठेक्का लिएर होल्ड गर्ने प्रवृत्तिले विकास निर्माणमा समस्या भएको बताएका छन् ।
एकै जनाले धेरै ठेक्का लिएर होल्ड गर्ने प्रवृत्तिले १ बर्षमा गरिसक्नुपर्ने काम ५ बर्षसम्म समेत सम्पन्न हुन नसकेको उनले बताए । मंगलबार बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा बिजुली बत्तिको उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् । एकै जनाले विद्यूत प्राधिकरणबाट ७४ वटा सव–स्टेशन बनाउने जिम्मा लिएको भन्दै उनले एकपटकमा ३, ४ वटा मात्र उसले निर्माण गर्न सक्ने बताए ।
निर्माण कम्पनीका यस्ता कारणले गर्दा जनताले निर्धारित समयमा विकासको अनुभुती गर्न नपाउने मन्त्री पुनको भनाई रहेको थियो । निर्माण कम्पनीले जिम्मा लिएका कामहरु समयमा नै थाले अन्य आउने विभिन्न समस्याहरु हल गर्न सरकार तयार रहेको उनले बताए ।
लामो समयको प्रतिक्षापछि सुगम जिल्लाको दुर्गम ठाउँ भनेर चिनिने कुसुममा बिजुली बत्ति बल्न सुरु गरेको छ । संघिय सांसद महेश्वर गहतराज अथक, प्रदेश संसद कृष्णा केसी नमुना, विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले कुसुमका बाँकी रहेका अन्य गाउँहरुमा समेत केही महिनाभित्रै बिजुली बाल्ने प्रतिबद्वता जनाएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, स्थानीयबासी, विद्यूत प्राधिकरणका अधिकारी लगायतको सहभागिता रहेको थियो ।