जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट बनाउने मेसिनसहित ४ जनालाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।
तीनजनालाई धनगढीबाट पक्राउ गरिएको भने गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक सुदिप गिरीले जानकारी दिए । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ।
उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको छ। यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडीको भाग छापिएको १२ नोट सहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको कैलालीका प्रहरी नायब उपरिक्षक सुदिप गिरीले जानकारी दिए। नक्कली नोट सहित पक्राउ परेका थप तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ । नक्कली नोट सहित पक्राउ परेका कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैया सहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवण कुमार सिंह र सोही ठाउँका गुरुजीत सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो।