दंगालीहरु आफ्नै जिल्लामा विमान चढेर दशैं मान्न जान पाउने सम्भावना बढेको छ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएपछि दंगालीहरुले खुसी व्यक्त गरेका छन् ।
मंगलबार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गरेको छ । नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलका अनुसार परीक्षण सफल भएसँगै दशैं अगाडिबाटै काठमाडौं–तुलसीपुर सातामा दुईपटक सेवा सञ्चालन गरिने छ । नेपाल वायु सेवा निगमको जहाज मंगलबार काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुरस्थित टरीगाउँ विमानस्थलमा अवतरण गरेको थियो ।
तुलसीपुरमा इन्धन डिपो नहुुँदा जहाजहरुलाई नेपालगञ्ज, भैरहवा वा सुर्खेत डिपोमा तेल भरेर तुलसीपुर जानुपर्ने बाध्यता छ । त्यसैले काठमाडौंबाट तुलसीपुर जाँदा समय धेरै लाग्ने र भाडा पनि महंगो हुने भएका कारण पनि एयरलाइन्स कम्पनीहरुले टरीगाउँ विमानस्थलमा उडान नियमित गर्न अप्ठयाराे हुने गरेकाे बताउँछन् । यद्पी यस पटकबाट भने एयरलाइन्स कम्पनीहरुले उडानलार्इ निरन्तरता दिने स्थानियवासीले अपेक्षा गरेका छन् ।