प्रदेश ५ को नामकरण र स्थायी राजधानीसम्बन्धी प्रतिवेदन तयार गर्न बनेको संसदको विशेष समितिले नेतृत्व नपाउँदा समितिका काममा प्रगति हुन सकेको छैन। प्रतिवेदन तयार गर्न ३ महिनाको समय पाएको समितिको आगामी कात्तिक २३ गते म्याद सकिँदैछ।
समितिले यो समयमा कुनै ठोस काम गरेको छैन । प्रदेश स्थापना भएको ८ महिना बितिसक्दा समेत प्रदेश ५ को स्थायी राजधानी र नामकरण टुङ्गो लाग्न नसकेको विषयमा प्रदेश सभा बैठकमा समेत पटक पटक आवाज उठेको छ ।
प्रदेशका सबै जिल्लामा सर्वपक्षीय छलफल र अध्ययन गरी राजधानी र नामकरणबारे प्रतिवेदन तयार गर्ने जिम्मा पाएको समिति निस्कृयजस्तै हुँदा प्रदेशको नामकरण र राजधानीबारे अन्योल बढेको प्राध्यापक डा. बाबुराम ज्ञवालीले बताए ।
उनले भने,'यो व्यापक छलफल र अध्ययन गर्नुपर्ने विषय हो तर सबै काम शून्यजस्तै छ।' प्रतिवेदन तयार गर्न सभाको दोस्रो अधिवेशनको २८औँ बैठकले साउन २४ गते विशेष समिति गठन गरेको थियो । १५ सदस्यीय यो समितिका भदौ १२ र असोज २ गते दुईवटा बैठक बसे । समितिले प्रतिवेदन सभामुखलाई बुझाउने र उक्त प्रतिवेदन सभामुखले सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
प्रदेश सभाको दुई तिहाई मतले प्रदेशको राजधानी तोक्ने र नामकरण गर्न सक्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभा सचिवलाय सचिव दुर्लभकुमार पुन मगरले समितिको म्याद सकिने अवस्थामा पुगे पनि काम नभएको बताए । समितिको संयोजक टुङ्गो लगाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।