नेपालगन्जस्थित पुष्पलालको शालिक मुनि पाइप बम राख्ने व्यक्तिलाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । जाजरकोटका २७ बर्षिय प्रदीप ओली(दयालु)लाई शुक्रबार बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
ओलीलाई बम राखेको केही समयमा नै दर्शक भएरै बम डिस्पोजल गरेको हेर्दै गर्दा बिहीबार पुष्पलाल चोकबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।
उनले बम राखेको स्विकार गरेको र आफुलाई हामी नेपाली हाम्रो नेपाल नामको संगठनको अध्यक्ष बताएको एसपी पौडेलले बताए । पक्राउ परेका ओलीको साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने ७ वटा डेटोनेटर, ४१ हजार पाँच सय १० नेपाली रुपैयाँ, भारु ३ सय रुपैयाँ नगद, दुई थान चेक, विभिन्न नम्बरका सिमकार्डहरु, मोबाईल र संगठनका पर्चाहरु बरामद गरेको जनाएको छ ।
उनी बुधबार मात्र काठमाडौंबाट नेपालगन्ज आएर एक होटेलमा बसेका थिए । जनमानसमा आतंक सृजना गर्न बम राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बाँकेका प्रहरी प्रमुख एसपि पौडेलले जानकारी दिए ।
पुष्पलालको शालिक मुनी बिहीबार बिहान सवा नौ बजे राखिएको पाइप बम नेपाली सेनाकोे बम डिस्पोजल टोलीले बिहीबार ७ घण्टापछि निष्कृय पारेको थियो । पक्राउ परेका ओलीमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।