कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागेर शुक्रबार एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।
प्रहरीको गोली लागेर शुक्रबार साँझ भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएपछि स्थितीलार्इ नियन्त्रण लिन प्रशासनले सदरमुकाममा कर्फ्यू लगाएकाे हाे । प्रहरीकाे गाेली लागेर अन्य चार जना घाइते भएका छन्।
उक्त घटनापछि महेन्द्रनगर बजारको अबस्था तनाबपूर्ण रहेकाे थियाे । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाब ग्रस्त बनेको छ।
महेन्द्रनगरको चन्दन चौक नजिक पुग्दा प्रहरीको गोली लागि प्रहरीले गाेली चलाएकाे र बालक खुनारकाे मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। अन्य केही घाइते भएका छन। प्रहरीहरुको अन्धाधुन्ध शैलीले फाईर खोलेपछि धेरै घाइते भएका हुन्।
प्रहरीको गोली लागेर घाइते भएका सातजनालाई महाकाली अञ्चल अस्पतालले उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरेको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि कञ्चनपुरमा चार दिनयता तनाव बढेको हो। सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो ।
यसैबीच, प्रहरीले कञ्चनपुर घटना बारेमा मुख खाेलेकाे छ । शुक्रबार साँझ आक्रोशित भिडले अचानक एकसाथ ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन, ट्राफिक प्रहरीको सवारी साधन, टिकट काउन्टरमा तोडफोड सुरु गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा उक्त दुःखद् घटना भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताएका छन् ।