कैलालीकाे धनगढीमा रहेकाे माइती नेपालको सेफ हाउसबाट दुई किशोरी बेपत्ता भएका छन्। शनिबार राति १० बजे सेफ हाउसबाट भाेगेका उनीहरुको अवस्था पत्ता लाग्न नसकेको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताए।
१४ वर्षीया र अर्की १६ वर्षीया किशोरीलाई संरक्षण र मनोपरामर्शका लागि केही दिनअघि सेफ हाउसमा राखिएको थियो। ‘झुलको डोरी बनाइ खानेपानीको पाइपमा बाँधेर घरको माथिल्लो तलाबाट झरेर दुवै जना फरार भएका छन्’ माइती नेपाल धनगढीका प्रमुख चौधरीले भने,‘किशोरीको खोजीका लागि प्रहरी तथा अन्य निकायमा पनि खबर गरेका छौं।’
डोटी जोरायल घर भएकी १६ वर्षीय किशोरीलाई उनका आफन्तले भदौ २१ गते सेफ हाउसमा राखेर गएका थिए। गाउँकै २६ वर्षीय लोकबहादुर विकले ती किशोरीलाई विहे गर्ने भनेर केही दिनअघि भगाएर लगेका थिए। तर, उमेर नपुगेकी किशोरीसँग शारीरिक सम्बन्ध राखेको र विवाह गर्न खोजेको भन्दै डोटी प्रहरीले विकलाई पक्राउ गरेर उनीविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाएको छ।
गाउँमा बस्ने अवस्था नभएको भन्दै आफन्तले संरक्षण र परामर्शका लागि ती किशोरीलाई माइती नेपालमा राखेका थिए। उनीसँगै फरार भएकी कैलालीको चुरे गाउँपालिका घर भएकी १४ वर्षीय किशोरीलाई गएको शुक्रबारदेखि सेफ हाउसमा राखिएको थियो। उनी यसअघि पनि डेढ साता माइती नेपालकै सेफ हाउसमा बसेर गएकी थिइन्।
माइती नेपाल धनगढीका प्रमुख चौधरीका अनुसार धनगढीको त्रिनगर सीमा क्षेत्रमा अलपत्र अवस्थामा भेटिएको भन्दै प्रहरीले ती किशोरीलाई साउन १९ गते माइती नेपालमा बुझाएको थियो। चौधरीका अनुसार साउन ३० गते उनलाई आफन्तको जिम्मा लगाइएको थियो।
घरबाट भागेर भारत जान लागेको भन्दै आफन्तले आग्रह गरेपछि गएको शुक्रबार पुनः सेफ हाउसमा राखिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले सेफ हाउसबाट दुई किशोरी फरार भएको भनेर जाहेरी आएकोले उनीहरुको खोजी भइरहेको बताए।