प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामांकन लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको छ।
सासंद तारालामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो। संसदीय समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ प्रदेश राख्न प्रतिवेदनमार्फत सुझाव दिएको छ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा उक्त प्रतिवेदन पेश गरिएको हो। अब बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको छ।
भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएपछि झण्डै एक महिनापछि संसदमा प्रतिवेदन पेश गरिएको हो। प्रदेश सभामा पेश भएको २४ घण्टापछि मात्र प्रदेश सभामा प्रतिवेदनमाथिको छलफल शुरु हुनेछ। प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संशोधन हाल्न पाउने छन्।
अहिले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको छ। यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ।