सुदूरपश्चिम प्रदेशमा दैनिकरूपमा खपत हुने पेट्रोलियम पदार्थका लागि समेत भण्डारण क्षमता नहुँदा बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ।
प्रदेशमा पेट्रोलियम पदार्थको खपत बर्सेनी ३० देखि ४० प्रतिशतले वृद्धि भइरहेको छ। तर, माग अनुसारको भण्डारण क्षमता नहुँदा बेला बेला इन्धनको अभाव भइरहने समस्या छ। सुदूरपश्चिम नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले देशको समग्र पेट्रोलियम पदार्थको खपत २० देखि २२ प्रतिशतले वृद्धि भएका बेला सुदूरपश्चिम प्रदेशमा ३० देखि ४० प्रतिशले वृद्धि भएको जनाएको छ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सडक, पुल, जलविद्युत परियोजना लगायत अन्य भौतिक पूर्वाधारको विकास बढेसँगै पेट्रोलियम पदार्थको खपतमा पनि वृद्धि भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताए। सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय विकास निर्माणले गति लिएसँगै पेट्रोलियम पदार्थको खपत बढेको उनले बताए।
भण्डारण क्षेत्र बढाउनका लागि निगमले योजना बनाएपनि जग्गा प्राप्त नहुँदा समस्या देखिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्माले गुनासो गरे। लामो समयसम्म लाइन लाग्दा समेत पेट्रोलियम पदार्थ नपाउँदा सवारी साधनहरू थन्काएर बस्नु परेको सवारी व्यवसायी हरि पालले गुनासो गरे। सुदूर प्रदेशमा लगातार यस्तो समस्या आइरहेको यातायात व्यवसायीले बताएका छन्।
त्यस्तै, पेट्रोल पम्प व्यवसायीहरूले व्यवसाय नै बन्द गरी बस्नु पर्ने बाध्यता रहेको व्यवसायीहरूले दुखेसो पोखे। केही वर्ष पहिले अन्य प्रदेशको तुलनामा थोरै पेट्रोलियम पदार्थको खपत गदै आएको सुदूरपश्चिम प्रदेशमा अहिले १० प्रतिशत बढी पेट्रोलिम पदार्थको खपत बढाएको आयल निगम क्षेत्रीय कार्यालयको दाबी छ। पेट्रोलियम पदार्थको आयात र खपत बर्सेनी बढ्दै गएपनि भण्डारण क्षमता नहुँदा समस्या देखिएको छ।