बझाङमा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
बागथलाबाट बुङ्गलको बिजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान बुङ्गल नगरपालिका–५ मिणीबगरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जीप दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–५ का ६५ वर्षीया विष्णादेवी बोहरा र कैलाली घोडाघोडी–५ का ५६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ।
दुर्घटनामा कञ्चनपुर बेदकोट नगरपालिकाका ३० वर्षीय मुडु बोहरा, ३५ वर्षीय प्रेम बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा र ४३ वर्षीया लालमती बोहरा घाइते भएका छन्। यसैगरी बेदकोट नगरपालिकाकै चन्द्रसिंह बोहरा, विरेन्द्र बोहरा, बुङ्गल–६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुङ्गल–८ का धिरेन्द्र बोहरा, चालक केदारस्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको देउरा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।