सुदूरपश्चिम प्रदेशमा दशैं र तिहारको समयमा २५ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन्।
७ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार यस वर्षको दशैंको फुलपाती दिनदेखि तिहारको भाइटिकाका दिनसम्म भएका ती सवारी दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ। प्रदेशका विभिन्न जिल्लामा भएको दुर्घटनामा परी १६ जना सामान्य घाइते र २४ जना गम्भीर घाइते भएका छन्।
सवारी दुर्घटनामध्ये सबैभन्दा बढी १३ वटा मोटसाइकल दुर्घटनामा परेका छन्। ७ वटा जीप कार, ४ वटा ट्याक्टर र एउटा बस दुर्घटनामा परेका छन्। दशैतिहारको अवधिमा नियम विपरित सवारी चलाउने थुप्रै चालकहरु कारवाहीमा परेको ७ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइते भएकाहरुमध्ये केही सामान्य उपचारपछि घर फर्किसकेका र केही देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन। तराईका दुई र पहाडी सात गरी ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी सवारी दुर्घटना कैलालीमा भएका छन्। यसैगरी क्रमश: कञ्चनपुर, डडेल्घुरा, अछाम, बझाङमा दुर्घटना भएका थिए।
यो अवधिमा डोटी, बैतडी, दार्चुला र बाजुरामा भने एउटा पनि सवारी दुर्घटना नभएको प्रहरीको तथ्यांकले देखाएको छ। हरेक वर्ष चाडपर्वको समयमा उच्च सर्तकता अपनाउँदै आएको ट्राफिक प्रहरीले यो वर्ष पनि ठाउँ-ठाउँमा सहायता कक्षहरु स्थापना गरी सुरक्षा व्यवस्था मजबुत पारेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।